
काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली क्रमिक रूपमा तल झर्दै गएको छ । नेपालको पुरुष फुटबल टोलीले खेलेको पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेपछि वरियता थप ओरालो लागेको हो ।
फिफाको जारी गरेको नयाँ वरियतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल तेस्रोबाट चौथो स्थानमा झरेको छ । फिफा वरियतामा नेपाल १ सय ८२ औँ स्थानमा ओर्लिएको छ । अघिल्लो वरीयताभन्दा नेपाल २ स्थान झरेको हो ।
नयाँ वरियता अनुसार नेपाललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८० औँ स्थानमा पुगेको छ । भारत १ सय ४२ औँ र माल्दिभ्स १ सय ४७ औँ स्थानमा छ ।
बंगलादेश यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १–० ले हराएको थियो । त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो । नेपाल एसियन कप छनोटमा मलेसियासँग पराजित भएको थियो ।
साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा पुगेको छ। अब नेपालभन्दा वरियतामा भुटान, श्रीलंका र पाकिस्तान छन् ।
फिफा वरियताको शीर्ष ४ यथावत् रहेको छ । स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ । ब्राजिल पाँचौँ स्थानमा उक्लिएको छ ।

























