
काठमाडौं । मंसिर तेस्रो साता ‘१३ औँ एनएसए कप पौडी च्याम्पियनसिप’ हुने भएको छ । नेपाल पौडी संघको आयोजनामा हुने पौडी प्रतियोगिता मंसिर २० र २१ गते काठमाडौंमा हुने संघले जनाएको छ ।
प्रतियोगितामा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ १५ सय मिटर, ४ सय मिटर, २ सय मिटर, १ सय मिटर, ५० मिटर तथा ४० प्लसको ५० मिटर फ्रिस्टाइलमा, २ सय मिटर, १ सय मिटर र ५० मिटर ब्रेस्ट स्ट्रोक, २ सय मिटर इन्डिभिजुअल मिड्ले, १ सय र ५० मिटर ब्याक स्ट्रोक र बटरफ्लाई खुला प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ८ सय मिटर, ४ सय मिटर, २ सय मिटर, १ सय मिटर, ५० मिटर र ४० प्लसको ५० मिटर फ्रिस्टाइल, २ सय मिटर, १ सय मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २ सय मिटर इन्डिभिजुअल मिड्ले, १ सय मिटर र ५० मिटर ब्याक र बटरफ्लाई खुला स्पर्धा हुनेछ ।
यसैगरी, महिला तथा पुरुषको ५० मिटर गुणा ४ फ्रिस्टाइल रिले र ५० मिटर गुणा ४ मिक्स मिड्ले रिलेमा प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोस्थित २५ मिटरको हिटिङ पौडी पोखरीमा हुने च्याम्पियनसिपमा पदक प्राप्तिका आधारमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई एनएसए च्याम्पियन ट्रफी प्रदान गरिने छ ।
यस्तै पदकका आधारमा १ महिला र १ पुरुष खेलाडीलाई नगदसहित ट्रफी प्रदान गरिने छ भने राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिने छ ।
च्याम्पियनसिपको अनुमानित लागत २० लाख रहेको छ । आर्थिक व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न दाता, संघ, संस्थाहरूको प्रायोजनबाट पूर्ति गरिने संघले जनाएको छ ।
च्याम्पियनसिपका लागि अनलाइन आवेदन खुला भइसकेको र च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि स्विमिङ नेपालबाट मात्र अनलाइन फर्म भर्नुपर्ने पौडी संघले जनाएको छ ।

























