
काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) नेपाली टिमले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा यो फाइनल खेल नेपाली समय अनुसार आज बिहान ११:४५ बजे सुरु हुनेछ।
नेपालले दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सहभागितामै इतिहास: यो पहिलो पटक आयोजना भएको ब्लाइण्ड महिला टी२० विश्वकप हो, जसमा फाइनल पुगेर नेपालले कीर्तिमान बनाइसकेको छ ।
भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । नेपाल र भारत दुवैले फाइनलमा पुगेर इतिहास रचेका छन्। अब नेपाली टोलीको लक्ष्य अन्तिम खुड्किलो पार गर्दै च्याम्पियन बनेर विश्वकपको उपाधि नेपाल भित्राउनु रहेको छ। सम्पूर्ण नेपालीको ध्यान र समर्थन आज नेपाली टिममाथि रहनेछ।

























