
काठमाडौँ । प्रथम नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल उपविजेता बनेको छ । फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सीमित भएको हो ।
श्रीलंकामा आयोजित प्रतियोगिताको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १ सय १५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य भारतले १२.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर च्याम्पियन बनेको हो ।
नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पाकिस्तानले दिएको १७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा श्रीलंकालाई ९ विकेटले, अस्ट्रेलियालाई १० विकेटले, अमेरिकालाई ८ विकेटले र पाकिस्तानलाई १० विकेटले पराजित गरेको थियो । समूह चरणमा पनि नेपाल भारतसँग ८५ रनले पराजित भएको थियो ।

























