
झापा । झापाको अर्जुनधारामा तीन विभागीय टोलीसहित राष्ट्रिय टोलीको सहभागिता रहने गरी अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज (आइतबार) लक्ष्मी माविस्थित खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
सल्लाहकार संयोजक वीरबहादुर राईका अनुसार प्रतियोगिता यही मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले प्रतियोगितामा नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमन्ड, एभरेस्ट लुम्बिनी र कोशी प्रदेशको टिमले लिग तथा नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगितामा आकर्षक पुरस्कार राशि राखिएको छ । विजेताले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने दुई टिमले जनही ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता संयोजक प्रभा काम्बाङका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुख बलदेव गोम्देनले यो प्रतियोगितालाई नगर गौरवका रूपमा लिएको र चाँडै नगरपालिकाभित्र रंगशाला निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

























