
काठमाडौं । दृष्टिविहीन महिला टी २० विश्वकपको उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई तथा शुभकामना दिएकी छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले विश्वकपमा उपविजेता बनेर इतिहास रच्न सफल नेपाली टोलीलाई बधाई दिएकी हुन् ।
खेलाडी र अफिसियलहरूलाई प्रधानमन्त्री निवासमा बोलाएर सीमित स्रोतसाधनका बाबजुद विश्व मञ्चमा नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै उनले प्रशंसा गरिन् ।
हालै श्रीलंकामा सम्पन्न प्रतियोगितामा प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोली दोस्रो भएको थियो ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय हो । तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त नतिजा हो । हरेक खेलाडी र अफिसियल यसको जस पाउनका लागि हकदार हुनुहुन्छ । अगाडिका दिनमा अझै कडा मेहनत गरेर विश्व च्याम्पियन बन्ने लक्ष्य राख्नु होस् ।’
खेलाडी तथा अफिसियलहरूले साधन स्रोतले सम्पन्न मुलुकका टोलीलाई जितेर फाइनलसम्म पुगेको र सरकारको साथ पाए च्याम्पियन नै बन्न सक्ने बताए ।
खेलाडीको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले, ‘आफ्नै पहलमा देखाएको प्रतिभा सह्रानीय रहेको र त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ । सरकारका तर्फबाट के गर्न सकिन्छ । म सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्छु ।’

























