
काठमाडौं । सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको डे–नाइट ‘वेस्टर्न डर्बी’मा कप्तान दीपेन्द्र सिंह ऐरीले देखाएको उत्कृष्ट बलिङ ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिँदा रोमाञ्चक खेलको मुख्य टर्निङ पोइन्ट बन्यो । पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कर्णाली एकपछि अर्को गरी विकेट गुमाउँदै १९.१ ओभरमै ९४ रनमा समेटियो ।
खेलको सुरुवाती क्षणमै २९ रनभित्र ४ विकेट खसाएर दबाबमा परेको कर्णालीलाई कप्तान सोमपाल कामी र पवन सर्राफको ३४ रनको साझेदारीले केही समय टिकाएको थियो । तर, साझेदारी टुटेपछि फेरि पतनको श्रृंखला रोकिएन, जसले टिमलाई प्रतिस्पर्धामा फर्कनै दिएन ।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए भने मार्क वाटले १७ रन जोडे । तर, व्यक्तिगत प्रदर्शनले समग्र टिमको कमजोर ब्याटिङलाई बचाउन सकेन ।
सुदूरपश्चिमतर्फबाट कप्तान ऐरीको बलिङ जादुमै कर्णाली ढलेको हो । ऐरीले लय, लाइन र लेन्थ तीनै नियन्त्रणमा राख्दै निर्णायक क्षणमा विकेटहरू झारे । उनको साथमा हर्मीत सिंह पनि समान रूपमा प्रभावकारी बने । उनले ४ ओभरमा १ मेडनसहित मात्र १९ रन दिएर २ विकेट हात पारे ।
अविनाश बोहराले २ विकेट लिए । किफायती बलिङका लागि चिनिने स्कट कुगेलेइनले ४ ओभरमा मात्र ९ रन खर्चेर १ विकेट झारे भने हेमन्त धामीले पनि कर्णालीका एक ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
लगातार ३ खेलमा जित निकाल्दै सुदूरपश्चिम रोएल्स अब प्रतियोगिताको सबभन्दा विश्वसनीय र लयमा देखिएको टिम बनेको छ । बलिङ र फिल्डिङको सामूहिक प्रदर्शन, कप्तानको नेतृत्व तथा नियमित ‘ब्रेक थ्रु’ दिने क्षमताले टिमलाई प्रत्येक म्याचमा बलियो बनाएको छ ।
कर्णाली भने पुनर्गठनको खाँचो देखिएको टिम बनेको छ । विशेषगरी शीर्षक्रमको अस्थिरता र मध्यमक्रमको निरन्तर पतनले टिमलाई बारम्बार संकटमा धकेलिरहेको छ ।
यो जितसँगै सुदूरपश्चिमले तालिकामा आफ्नो स्थिति अझै मजबुत बनाएको छ । खेलमा देखिएको अनुशासित खेलशैलीले आगामी म्याचहरूमा समेत प्रतिद्वन्द्वीहरूलाई चनाखो हुनुपर्ने संकेत दिएको छ ।

























