
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ११: ४५मा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ ।
चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल खेलेको चितवनको समान चार अंक छ। चितवन तेस्रो स्थानमा छ । काठमाडौं चौथो स्थानमा छ । दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन् ।
दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ । तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ । विराटनगर तालिकाको दोस्रो स्थानमा छ । कर्णाली पाँचौं स्थानमा छ ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । चारमा एक खेल गुमाएको विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ।
समान चार अंक भएका चितवन र काठमाण्डु तेस्रो र चौथो स्थानमा छन् । समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् । अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुनेछ ।

























