
काठमाडौं। डिफेन्डिङ च्याम्पियन नेपाल एसीसी अन्डर नाइन्टिन पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि १ सय १९ रनको फराकिलो जित हासिल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
नेपालले दिएको २७१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको हङकङ ४० ओभर ५ बलमा मात्र १ सय ५१ रनमा अलआउट भयो। नेपालको शानदार जितमा युवा बलर अपराजित पौडेल ले चार विकेट लिएर महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रनको विशाल योगफल तयार पारेको थियो। नेपाली टिमको सुरुवात सामान्य रहे पनि मध्यक्रममा अशोक धामी र दर्श सोनारको विस्फोटक साझेदारी निर्णायक बन्यो।
ओपनर नीरजकुमार यादवले २२ रन र वंश क्षेत्रीले २४ रन बनाए। निश्चल क्षेत्री ३ रनमा आउट भएपछि सिब्रिन श्रेष्ठ (२५ रन) र दिलसाद अली (३२ रन) ले क्रमशः ४८ रनको साझेदारी गरेका थिए। रोशन विश्वकर्मा २१ रनमा आउट हुँदा नेपालको स्कोर ३६.५ ओभरमा १६२/६ थियो। धामीको विस्फोटक पारी: सातौं विकेटका लागि अशोक धामी र दर्श सोनार बीच १ सय ८ रनको शतकीय साझेदारी भएको थियो। धामीले ५१ बलमा तीन चौका र चार छक्कासहित ७३ रनको विस्फोटक पारी खेले। दर्श सोनार ४५ रनमा अविजित रहे। हङकङका डानियल म्याप र अभिमन्यु गणेशनले समान दुई-दुई विकेट लिए।
जवाफमा हङकङले विकेट टिकाएर खेल्न संघर्ष गर्यो। उसका ओपनर जेडे लि २२, रेयान्स शर्मा १८ र शिव माथुर ३० रनमा आउट भएका थिए। मध्यक्रमका महत्त्वपूर्ण चार विकेट लिने क्रममा अपराजित पौडेल ले अब्लुललाई १९ रनमा आउट गर्दै कट एन्ड बोल्ड गरेपछि नेपालको जित सुनिश्चित भएको थियो। हङकङ ४०.५ ओभरमा अलआउट भयो।
अब नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ। आजै भएको अर्को खेलमा मलेसियाले इरानलाई ८ विकेटले हराएको थियो। अर्को सेमिफाइनलमा ओमानले यूएईसँग खेल्नेछ।

























