
काठमाडौं । नेपाल रेमिटरर्स एसोसिएसनले मलेशियन एसोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग साझेदारी गरेको छ। नेपाल रेमिटरर्सले यस सहकार्यलाई ‘ऐतिहासिक’ कदमको रूपमा व्याख्या गर्दै यसले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गरेको स्पष्ट पारेको छ ।
केही चरणको छलफलपछि दुवै संघहरू मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न र वृद्धि प्रोत्साहन गर्न संयुक्तरूपमा काम गर्ने सहमतिमा पुगेको जानकारी गराइएको छ । नेपाल रेमिटरर्सको विज्ञप्तिमा उल्लेख भएअनुसार, यो साझेदारी ज्ञान आदानप्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।
साझेदारी कार्यक्रममा मलेशियन एसोसिएसनका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्सका अध्यक्ष रितेश मित्तलले सम्बोधन गरेका थिए। उनीहरूले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकको नियन्त्रण र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श भएको जनाएका छन्।
नेपाल रेमिटरर्सका अध्यक्ष रितेश मित्तलका अनुसार यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो। मलेशियन एसोसियनसँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने बताएका छन्।

























