
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा सुन आयातको मात्रा र यसको मूल्य दुवैमा उच्च वृद्धि भएको देखिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा मात्रै १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ।
उक्त आयातबाट सरकारले १ अर्ब ५७ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार विभागको तथ्याङ्क छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको सुन आयात भएको थियो, जसबाट २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठेको थियो। तथ्याङ्कले चालु आर्थिक वर्षमा सुनको आयात ह्वात्तै बढेको देखिएको छ भने सुनको मूल्य पनि बढ्दो क्रममै छ।
विश्वका केन्द्रीय बैंकहरूले डलर सञ्चितिको सट्टा विविधीकरणलाई प्राथमिकता दिनु, लगानीको अन्य क्षेत्र संकुचन हुनु, अझै पनि सुनलाई सुरक्षित लगानीको रूपमा हेरिनुका साथै विश्वका सबैभन्दा ठूलो सुन उपभोग गर्ने राष्ट्रहरूमध्ये एक भारतमा बलियो माग देखिनुलगायत कारणले सुनको मूल्य बढेको विश्लेषकहरू बताउँछन्।
नेपालमा सुनको मूल्यले आज पुनः कीर्तिमानी नजिकको स्तर कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबार मात्रै सुनको मूल्य एकै दिन २ हजार २ सय रुपैयाँ ले बढेको छ। प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको हो। कुल १४ कारोबार दिनपछि सुनको मूल्य फेरि तोलामा २ लाख ५० हजार रुपैयाँ नाघेको महासंघको तथ्याङ्क छ। यसअघि कात्तिक २७ मा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ थियो। त्यसयता मूल्य घट्ने-बढ्ने भइरहे पनि २ लाख ५० हजार रुपैयाँ पुगेको थिएन।

























