
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल आयोजना हुँदैछन् ।
पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुँदैछ । दुवै टिमलाई प्लेअफ सम्भावना कायम राख्न जितको दबाब छ ।
प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकको छैटौँ स्थानमा छ । चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स तालिकाको सातौँ स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रतियोगिताको दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ ।
तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ । जनकपुरले यसअघिका तीनमध्ये तीनै खेलमा हार व्यहोरेको थियो । कीर्तिपुरमै हुने यो खेल अपराह्न ३ः३० बजेदेखि सुरु हुनेछ ।

























