
विराटनगर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
संस्थाले कोशी प्रदेशअन्तर्गतका शाखालाई लक्षित गरी २ दिने जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन तालिमको आयोजना गरेको हो । तालिममा कोशी प्रदेशका बरगाछी, इटहरी, हिले र गाईघाट क्लस्टर अन्तर्गतका शाखाहरूबाट ५६ जना फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिममा संस्थाका सहायक कार्यकारी प्रमुख दिनेश कटुवाल प्रमुख प्रशिक्षकका रूपमा रहे थिए भने कर्जा विभाग प्रमुख घनश्याम चौधरी र कोशी प्रदेश कार्यालय प्रमुख शम्भु घिसिङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा वित्तीय संस्थाले अवलम्बन गर्दै आएको जोखिम न्यूनीकरण रणनीति, आवधिक योजना कार्यान्वयन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, तथा आर्थिक वर्ष २०८२ र ०८३ का लागि निर्धारण गरिएका व्यावसायिक लक्ष्यहरू हासिल गर्न आवश्यक प्रवर्द्धनात्मक उपायहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो ।
लघुवित्तका कर्मचारीहरूको सीप, दक्षता र कार्यक्षमता अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ ।

























