
विराटनगर । विराटनगरमा शुक्रबारदेखि ‘१५ औँ प्याब्सन स्पोर्ट्स मिट’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्पोर्ट्स मिटको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले यही मंसिर १९ देखि २१ गतेसम्म विराटनगरमा विभिन्न खेलका इभेन्टलाई समेटेर विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
जिल्लाका प्याब्सन आबद्ध २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै, अध्यक्ष बस्नेतले भने, ‘फुटबल र क्रिकेट खेल धेरै हुने भएको र समय लाग्ने भएकाले प्रतियोगिताको उद्घाटन अगावै यी खेलहरू सुरु भइसकेको छ । अन्य खेल तालिका अनुसार सकिने भएकाले उद्घाटनदेखि नै हुने छन् ।’
विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा सर्वाङ्गीण व्यक्तित्व निर्माणलाई लक्षित गर्दै यस कार्यक्रमलाई प्रत्येक वर्ष थप परिष्कृत, प्रभावकारी र सुदृढ बनाएर प्रतियोगिता आयोजना गर्दै आएको छौँ, अध्यक्ष बस्नेतले भने ।
विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्राथमिकतामा राखेर पढाइसँगै यस्ता गतिविधि गर्दै आएको बताइएको छ ।
प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस र एथलेटिक्सका खेलहरू समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ अनुमानित खर्च रहेको आयोजकले जनाएको छ ।
३ दिनसम्म चल्ने खेलकुद महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

























