
विराटनगर । विराटनगरमा जारी १५ औँ प्याब्सन स्पोर्ट्स मिटको फुटबलतर्फ ब्राइटफ्युचर, हरैँचा मोडल, वाल्मीकि र मोडर्न एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा ब्राइटफ्युचर स्कुलले सेन्ट जोसेफ स्कुललाई २–१ गोल हराउँदै सेमिफाइनलमा पुगेको हो । खेलको म्यान अफ द म्याच ब्राइटफ्युचरका अनिष चौधरी भए ।
दोस्रो खेलमा हरैँचा मोडल स्कुलले ग्यालेक्सी स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुग्यो । खेलको म्यान अफ द म्याच हरैँचाका गौरव खवास भए ।
त्यस्तै, तेस्रो खेलमा वाल्मीकि स्कुलले सिंहदेवी स्कुललाई ५–० को गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वाल्मीकिका सयल फियक भए ।
चौथो खेलमा मोडर्न एरा स्कुलले पशुपति स्कुललाई १–० गोलले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
प्रतियोगिताको बिहीबारको पहिलो सेमिफाइनल खेल हरैँचा मोडल र वाल्मीकि स्कुल तथा दोस्रो सेमिफाइनल खेल ब्राइटफ्युचर र मोडर्न एरा स्कुलबीच हुने आयोजकले जनाएको छ ।

























