
झापा । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।
प्रतियोगिताको बुधबार भएको उद्घाटन खेलमा एपीएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो ।
एपीएफले एभरेस्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच एपीएफकी नेबिका चौधरी भइन् ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् ।
प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लबबिच हुनेछ ।
प्रतियोगितामा सहभागी ६ टिमलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपीएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बी’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
झापामा राष्ट्रिय स्तरको महिला भलिबल पहिलो पटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

























