आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १४:४४

झापा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ ।

आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्टलाई स्तब्ध पारेको थियो । आजको हारसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ । एभरेस्टले समूह चरणका दुवै खेलमा पराजय भोगेको थियो । खेलको प्लेयर अफ द म्याच आर्मीकी वसन्ती साउद भइन् । उनलाई नगद सौजन्यकर्ता पूर्वखेलाडी कृष्ण गिरीलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

समूह ‘ए’ मा रहेको आर्मीले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । समूह ‘ए’ बाट एपीएफ क्लब विजेता बन्दै सेमिफनइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×