
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औँ प्याब्सन स्पोर्ट्स मिट २०८२’ शुक्रबारदेखि सुरु भएको छ ।
स्पोर्ट्स मिटको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले उद्घाटन गर्दै कक्षा कोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भएकाले उनीहरूको प्रतिभा उजागर गर्न खेलकुदले ठूलो भूमिका खेल्ने बताए ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले मंसिर २१ गतेसम्म हुने प्रतियोगितामा मोरङका २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताए ।
प्रतियोगिताको उद्घाटनमा ग्रामथानको शारदा, सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी र विराटनगरको स्टार स्कुलले स्वर्ण पदक जितेका छन् ।
ज्याभलिङ थ्रोको छात्रातर्फ शारदा स्कुलकी अमिशा मण्डलले स्वर्ण, पूर्वाञ्चल एकेडेमीकी शीतल मगरले रजत र बालजगत स्कुलकी कसक माया दनुवारले कास्य पदक जिते ।

लङजम्प छात्रतर्फ पूर्वाञ्चल एकेडेमीका मनिष चौधरीले स्वर्ण, मदरटेरेसा स्कुलका सुरज साहले रजत र एजेलिया स्कुलका रिकेस सरदारले काश्य पदक जिते । लङजम्प छात्रातर्फ स्टार स्कुलकी प्रीति मुखियाले स्वर्ण, पूर्वाञ्चल एकेडेमीकी सिर्जना विकले रजत र मदरटेरेसा स्कुलकी पूजा यादवले कास्य पदक जिते ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको खेल संयोजक विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस र एथलेटिक्स लगायतका विभिन्न विधाहरू समावेश गरिएका छन् ।

























