फाइल तस्बिरविराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण एक ७ वर्षीय बालकले आँखाको ज्योति गुमाउनुपरेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित छानबिन समितिले उक्त घटनामा चिकित्सकको ‘चरम लापरवाही’ रहेको निष्कर्ष निकालेको छ।
इटहरी उपमहानगरपालिका–१, हासपोसाका जेनिश पाठक लाई नाकको दाहिने प्वालमा मासु पलाएपछि परिवारले गत मंसिर ४ गते नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए।
मंसिर ५ गते बालकको शल्यक्रिया सुरु भयो। डा= प्रज्वल श्रेष्ठको नेतृत्वमा अप्रेसन थिएटरमा लगिएका बालकको शल्यक्रिया पूरा नहुँदै डाक्टर श्रेष्ठ बाहिर निस्किए। छानबिन समितिका अनुसार, डा. श्रेष्ठले ‘अर्को इमर्जेन्सी बिरामी हेर्नुपर्ने’ भन्दै बीचमै शल्यक्रिया छाडेर हिँडेका थिए। त्यसपछि बाँकी शल्यक्रिया कविराज बास्तोलासहितको सहायक टोलीले मात्रै पूरा गरेको थियो।
शल्यक्रियाको भोलिपल्टै बालकको आँखामा गम्भीर समस्या देखियो। अस्पतालले हतार–हतार उनलाई डिस्चार्ज गरे पनि शंका लागेर परिवारले बालकलाई विराटनगर आँखा अस्पताल पुर्याए। त्यहाँ परीक्षण गर्दा ‘दाहिने आँखाको भित्री भाग ड्यामेज भइसकेको र अब कहिल्यै देख्न नसक्ने’ रिपोर्ट आएपछि परिवार छाँगाबाट खसेजस्तै भयो।
डाक्टरले स्वीकारे गल्ती
घटनापछि बालकका मामाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए। प्रशासनको पत्रपछि स्वास्थ्य मन्त्रालयले डा. अनिता जिसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिसँगको बयानमा मुख्य चिकित्सक डा। प्रज्वल श्रेष्ठले अप्रेसन पुरा नगरी बीचमै निस्किएको स्वीकार गरेका छन्। स्रोतका अनुसार उनले इमर्जेन्सीका कारण सहायकलाई जिम्मा लगाएर निस्किएको बताएका छन्।
छानबिन समितिले मुख्य डाक्टरले नै शल्यक्रिया पूरा गरेको भए यस्तो दुर्घटना नहुन सक्ने निष्कर्ष निकाल्दै आफ्नो प्रतिवेदन तयार पारेको छ। समितिले पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउन र लापरवाही गर्ने चिकित्सकमाथि कडा कारबाही गर्न सिफारिस गर्दै १–२ दिनभित्रै मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।



















