विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो, २ लाखले अवलोकन गर्ने अनुमान

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १५:४२

विराटनगर । मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका–२ शान्ति चोकमा अन्तर्राष्ट्रियस्तरको ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गर्ने भएको छ ।

आगामी पुस ९ देखि १९ गतेसम्म व्यापार मेला सञ्चालन हुने छ । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले एक्स्पोको तयारी, उद्देश्य र सम्भावित प्रभावबारे विस्तृत जानकारी गराएको छ ।

संघका अध्यक्ष अनुपम राठीले आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्वदेशी उत्पादनको प्रवर्धन गर्ने र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित भव्यरूपमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको ह्याङगर संरचनासहित २ सय ३० वटा स्टल रहने उनले बताए । उनका अनुसार ८० प्रतिशतभन्दा बढी स्टल बुकिङ भइसकेका छन् ।

नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा रहने जानकारी राठीले दिए । साथै भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिनेछ । जसले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।

मोरङ उद्योग व्यापार संघ विक्रम संवत २००७ सालमा स्थापना भएको मुलुककै जेठो उद्योग–व्यापार सम्बन्धी संस्था मानिन्छ । नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत रहेको संघले उद्योगी व्यवसायीको हकहित संरक्षण, आर्थिक क्रियाकलापको विविधीकरण र स्वाभिमानी अर्थतन्त्र निर्माणमा निरन्तर योगदान गर्दै आएको इतिहास छ ।

यसअघि संघले कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०१८ र २०२२ तथा मोरङ व्यापार संघ एक्स्पो–२०२३ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्षको एक्स्पो जेन्जी आन्दोलनपछि देखिएको आर्थिक शिथिलतालाई तोड्दै बजारमा नयाँ ऊर्जा भर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको दाबी आयोजकको छ ।

मुलुकको नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशका वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहकार्य विकास, मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्धन र कोशी पर्यटन वर्ष–२०८२ को प्रचार–प्रसार एक्स्पोका प्रमुख लक्ष्य हुन् । एक्स्पो अवधिभर स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, साइबर सुरक्षा, कर तथा लेखा प्रणाली र महिला उद्यमशीलतासम्बन्धी विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरिनेछ ।

यसले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्ने अवसर र विद्यमान व्यवसायीलाई विस्तारका नयाँ सम्भावना दिने विश्वास आयोजकको छ । दर्शकलाई मनोरञ्जनका लागि चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । मेलामा किड्स जोन, सेल्फी जोन, फिस तथा जलपरी टनेल, मनोरञ्जनात्मक खेलसामग्री र नेपाली कलाकृतिमा आधारित आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ ।

मेलाको २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ । २ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको एक्स्पोबाट २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा छ । आयोजकले संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र विभिन्न निजी तथा व्यवसायिक संघसंस्थाको सहकार्यमा आयोजना हुन लागेको एक्स्पोलाई सफल बनाउन सबैमा अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.