
विराटनगर । भन्सार एजेन्ट महासंघ नेपालले भर्खरै जारी भएको भन्सार ऐन २०८२ को विरोधमा आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गरेको छ । महासंघले ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याएकाले आन्दोलनमा उत्रिनुपरेको महासंघका अध्यक्ष प्राचीनकुमार थैवले बताए ।
नयाँ ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र वैध व्यापारलाई निरुत्साहित गर्दै भन्सार अधिकारीको तजबिजी अधिकारलाई बढावा दिएको महासंघको ठहर छ । केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार, महासंघले ऐनको विरोध गर्दै आइतबार वीरगञ्ज र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प पारेको थियो। उनले नयाँ भन्सार ऐनले सिर्जना गरेका समस्या र भन्सार एजेन्टहरूको पेशासँग सम्बन्धित मागहरू सम्बोधन नगरिए आजै आन्दोलनका थप कडा कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी दिए।
महासंघले भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूबाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था हुनुपर्ने माग राखेको थियो। केन्द्रीय सदस्य घिमिरेले भन्सार जाँचपासमा हुने ढिलासुस्ती, स्वचालन प्रणालीमा हुने सर्भर समस्या, राजश्व भुक्तानी र क्वारेन्टाइनलगायतका समस्या समाधानका लागि भन्सार विभागसमक्ष ताकेता गर्दा पनि पहल नभएका कारण जाँचपास प्रक्रिया सहज र सरल हुन नसकेको बताए।

























