
विराटनगर। चालू आर्थिक वर्षको पहिलो ४ महिनामा मेची भन्सार कार्यालय, झापाबाट अलैँची निर्यातमा १ सय ९ प्रतिशतले भारी वृद्धि भएको छ। भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल एक हजार ८२३ मेट्रिक टन अलैँची बाहिरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब ९० करोड दुई लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यस वर्ष अलैँचीको मूल्य प्रति मन (४० किलो) एक लाख १० हजार रुपैयाँसम्मले कारोबार भएको छ। बजारमा व्यापारीहरूले अलैँचीलाई मुख्यतः तीन किसिमले वर्गीकरण गरी चलनचल्तीको (सामान्य), पुच्छर काटेको र ठूलो दाना भएको कारोबार गर्दै आएका छन् ।
पुच्छर काटेको र ठूलो दाना भएको अलैँचीको मूल्य बढी हुने गरेको छ। ठूलो दानाको अलैँचीले चलनचल्तीको भन्दा प्रति मन १० हजार रुपैयाँसम्म बढी मूल्य पाउने गरेको छ भने पुच्छर काटेको अलैँची तीनदेखि पाँच हजार रुपैयाँ बढीमा साटिने गरेको छ। यद्यपि, ठूलो दाना भएको अलैँचीको कारोबार झापाको बिर्तामोडमा अधिक हुने गर्दछ।
नेपालमा साउन महिनादेखि किसानले अलैँची उत्पादन सुरु गर्छन्। उत्पादन हुने अधिकांश अलैँची मेची भन्सार कार्यालय भएरै छिमेकी मुलुक भारत निर्यात हुने गरेको छ। तथ्याङ्कले नेपालको ९८ प्रतिशत अलैँची भारत निर्यात हुने देखाएको छ।व्यापारीहरूका अनुसार, भारतबाट भने यो अलैँची पाकिस्तान र खाडी मुलुकमा निर्यात हुने गर्दछ। नेपाल, भारत र भुटानमा उत्पादित अलैँची मसला बनाउने प्रयोजनका लागि तेस्रो देशमा जाने गरेको उनीहरूले बताएका छन्।

























