
काठमाडौँ । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच भन्सार ऐन २०८२ लाई लिएर उत्पन्न विवाद समाधान गर्न आज (बुधबार) फेरि वार्ता हुने भएको छ। मंगलबार भएको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि आज पुनः छलफल हुने भएको हो।
भन्सार एजेन्ट महासंघले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ सहित विरोधका कार्यक्रमहरू सुरु गरेपछि भन्सार विभागले वार्ताका लागि बोलाएको थियो। राजस्व र व्यापार प्रभावित: महासंघ विरोधमा उत्रिएपछि देशैभरका भन्सार कार्यालयमा जाँचपास ठप्प भएको छ, जसका कारण राजस्व संकलन र अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ।
महासंघका अध्यक्ष प्राचिनकुमार थैवले भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुऱ्याउने वातावरण सिर्जना भएकोले विरोधमा उत्रिनुपरेको बताएका छन्।
केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार महासंघले ऐनको विरोध गर्दै आइतबार वीरगञ्ज र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प गरेको थियो। मंगलबार देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’ गरिएको थियो र यो विरोध कार्यक्रम आज पनि जारी रहने उनले बताएका छन्।
महासंघले भन्सार ऐन २०८२ मस्यौदा तयार हुँदादेखि नै आफ्ना मागहरू राख्दै आएको थियो। उनीहरूले भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूवाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै हुनुपर्ने माग राखेका छन्।

























