
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा ऋषिप्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको ३८१औँ बैठकले न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघिका कामु सीईओ भागनारायण साहुले मंसिर २४ गतेबाट स्वेच्छिक अवकाश लिएपछि रिक्त भएको पदमा न्यौपानेलाई नियुक्त गरिएको संस्थाले बताएको छ । उनी संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी व्यक्तित्व हुन् । वि.सं. २०५५ सालमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट बैंकिङ करिअर सुरु गरेका उनले लघुवित्त क्षेत्रमा करिब साढे दुई दशक बिताइसकेका छन् ।
२०६१ सालमा साविकको नेरुडे लघुवित्तमा अधिकृत स्तरमा प्रवेश गरेका न्यौपानेले त्यहाँ जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको भूमिकामा थिए । नेरुडे र मिर्मिरेको मर्जरपश्चात् बनेको नेरुडे मिर्मिरे लघुवित्तमा उनले आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायतका उच्च कार्यकारी तहको जिम्मेवारी सम्हालिसकेका छन् ।
न्यौपानेले बदलिँदो परिस्थितिअनुरूप संस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

























