विराटनगर किंग्सको पराजयसँगै सामाजिक सञ्जालमा पोखिएका कुण्ठाहरू 

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १४:१५
विराटनगर किंग्सको पराजयसँगै सामाजिक सञ्जालमा पोखिएका कुण्ठाहरू 

विराटनगर । नेपाल प्रिमियर लिग क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी भिड्ने पक्का भइसकेको छ । यद्यपि, लुम्बिनीको एलिमिनेटर हुँदै फाइनलसम्मको पहिलो यात्रा रोमाञ्चक रहेको थियो ।

समूह चरणको ७ खेलमा ४ मा जित र ३ मा हार व्यहोरेको लुम्बिनीले ८ अंकसहित तालिकाको चौथो स्थानमा सीमित भएर एलिमिनेटरको यात्रा तय गरेको थियो ।

अर्काेतर्फ, समूह चरणको ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उभिएको विराटनगरले सबैलाई चुनौती दिँदै आएको थियो । सुदूरपश्चिम रोयल्सलाई समेत समूह चरणमा पराजित गरेको विराटनगरको क्रेज त्यसपछि थप बढेको थियो ।

त्यस लगत्तै क्वालिफायर वानमा भने पुनः ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले विराटनगरलाई आफ्नो स्थान महसुस गराएको थियो । उपाधि लक्ष्यसहित मैदानमा उत्रिएको विराटनगरले पहिलो खेलबाट दर्शकको साथ पाउँदै आएको थियो ।

लिगको पहिलो खेलमा पोखरा एभेन्सर्जविरुद्ध ५३ रनले जित निकाल्दै एनपीएलमै सशक्त दाबेदारी पेश गरेको विराटनगरले पाँचौँ खेलपछि अर्को आकर्षण थपेको थियो ।
सन्दर्भ थियो, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस । उनलाई भित्र्याउँदा विराटनगरले उपाधि जिते सरह महत्त्वाकाङ्क्षा बढाएको थियो । यद्यपि, ४ खेल खेलेका फाफले २५ को ब्याटिङ औसत राखेर १ सय १ रन बनाए ।

सुदूरपश्चिमविरुद्ध समूह चरणको खेलमा २० बलमा बनाएको ५० रन नै उनको उत्कृष्ट थियो । उनकै ब्याटिङको प्रतीक्षामा लुम्बिनी लायन्सविरुद्धको क्वालिफायर टु मा समेत दर्शक बसेका थिए ।

यद्यपि, कम योगफलको खेलमा उनको ब्याट ३ रनमा सीमित हुँदै मैदानबाट बाहिरियो । समग्रमा विराटनगरले पछिल्लो २ खेलमा आफूलाई मात्रै हराएनन् उसका दर्शकलाई समेत निराश बनायो । लुम्बिनीविरुद्धको हारपछि सामाजिक सञ्जालमा खेलकुददेखि राजनीतिक दलका नेतासम्मले प्रतिक्रिया दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता जीवन आचार्यले खेल सुरु हुन अघि ‘लुम्बिनीलाई हराउने, फाइनलमा प्रवेश गर्ने, फाइनलमा सुदूरपश्चिमसँग बदला लिँदै ट्रफी उचाल्ने, हामी विराटनगरवासीको रोड म्याप तयार ।’ लेखेका थिए । यद्यपि, खेल हारेपछि उनले  ‘हार्दिक बधाई लुम्बिनी’ भन्दै सराहना गरेका छन् ।

उनले स्टाटसमा विराटनगर किंग्सका मालिक मध्येका एक पारस लुनिया र नेपाल क्रिकेट एसोसिएसनका सचिव पारस खड्कालाई ट्याग गरेका छन् ।

त्यसैगरी, विराटनगरका पत्रकार पुष्पराज थपलियाले लेखेको स्ट्याटसलाई क्रिकेटका प्रशिक्षक प्रदीपराज पाण्डेले शेयर गरेका छन् । जसमा थपलियाले लेखेका छन्, ‘जसले विराटनगरको खेलाडीलाई देख्न सक्दैन, उसलाई विराटनगर जिम्मा लगाएपछि विराटनगरको प्रगति हुँदैन पारस लुनिया । त्यसैले स्थानीय खेलाडीलाई पनि एनपीएलमा मौका दिनुपर्छ ।’ एनपीएलको पहिलो संस्करणबाटै विराटनगर र कोशी प्रदेशबाट स्थानीय खेलाडी समेट्न नसकेकोमा आलोचना हुँदै आएको छ ।

यस क्रममा थपलियाले विराटनगरका मालिक मध्येका एक तथा पूर्व क्रिकेटर पारस लुनियालाई लक्षित गर्दै स्टाटस राखेको बताएका छन् । त्यसैगरी, अर्का पत्रकार बाबुराम भण्डारीले भने  ‘फर्केर विराटनगर आउला है त, तिमेर्का डँडाल्ना भाँच्चु ।’ लेखेका छन् ।

यस क्रममा बास्केटबल संघ कोशी प्रदेशका पदाधिकारी तथा प्रशिक्षक सरोज लम्साल पनि विराटनगरको हारमा प्लेट विज्ञापन शेयर गर्छन् जसमा ‘मैदानमा तुफान सुदूरको शान’ लेखिएको छ ।

अर्काेतर्फ पत्रकार सुफल काफ्लेले भने नेपाली राजनीति र राजतन्त्रप्रति व्यंग गर्दै लेखेका छन्,  ‘नेपालमा किंग फाप्दैनन् भनेर विराटनगरले देखायो ।’

अर्काेतर्फ सुनसरी क्रिकेट संघका चेतनाथ पौडेलले पनि लुम्बिनीको जित गौरवान्वित भएको जनाउँदै लेख्छन्,  ‘पौडेल पावर नि देखियो, आज क्रिकेटमा । हार्दिक बधाई टिम लुम्बिनी ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×