
विराटनगर । विराटनगरमा साइकलयात्रीको साथबाट ४ लाख ७० हजार रूपैयाँ बरामद भएको छ । उक्त रकमको स्रोत खुलेको छैन ।
विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट साइकलयात्री विराटनगर महानगरपालिका–१५ का ४३ वर्षीय सञ्जय चौधरीलाई प्रहरीले बिहीबार राति ८ः१५ बजेतिर नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले भारतको जोगवनीबाट साइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
चेकजाँच गर्दा उनले लगाएको पाइन्टको गोजीभित्र लुकाएर राखिएको अवस्थामा रकम बरामद भएको मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार चौधरीको साथबाट १ हजार दरका ४ सय र ५ सय दरका १ सय ४० थान नोट बरामद भएको छ ।
चौधरीबाट बरामद गरिएको ४ लाख ७० हजार रूपैयाँको स्रोत नखुलेको जानकारी चुँडालले दिइन् । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । चौधरीलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























