
काठमाडौं । युएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भव्य स्वागत गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको प्रतियोगिताको ५४ केजी तौल समूहमा राखेपले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य पदक पक्का गरेका थिए । कांस्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।
सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौँ स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केबाज हुन् ।
चन्द्रसँगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाल काम्वाङ, ६० केजीमा खगेन्द्र रोक्का मगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वाटर फाइनलको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते ।
बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगर रहेका थिए ।
कार्यक्रममा सदस्यसचिव मेहताले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा चन्द्रलाई बधाई दिँदै चन्द्रले जितेको पदक सारा नेपालीलाई हर्षित बनाएको बताए । चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धि सम्भव भएको बताउँदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रित गर्ने बताए ।
बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे ।
आइतबारै दुबईमा भएको पाँचौँ एसियाली यूथ पारा गेम्सअन्तर्गत टेबल टेनिसको यू २३ पुरुष सिंगल (क्लास ७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि स्वागत गरिएको थियो ।
सदस्यसचिव मेहता, राखेप कार्यकारी समितिका सदस्य भट्टराई, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटीका पदाधिकारी, अखिल नेपाल टेबल टेनिस संघका पदाधिकारीलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

























