रेड पान्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १, मंगलबार १५:०७
रेड पान्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम

इलाम । रेड पान्डा संरक्षण गर्ने उद्देश्यका साथ इलाममा आयोजना गरिएको रेड पान्डा म्याराथन प्रतियोगितामा गजेन्द्र राई र निर्मला राई प्रथम भएका छन् । स्थानीय पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम भए ।

दीपज्योति युवा क्लबले विश्वकै दुर्लभ वन्यजन्तु रेड पान्डा तथा जैविक विविधता संरक्षणबारेमा जनचेतना जगाउने उद्देश्यले म्याराथन प्रतियोगिताको आयोजना गरेको जनाएको हो ।

मंगलबार बिहान साढे ७ बजे इलाम बजारबाट सन्दकपुर डाँडासम्म भएको म्याराथनमा नेपाल र भारतका ६२ धावक र ११ महिलाको सहभागिता रहेको थियो ।  प्रतियोगितामा गजेन्द्र राईले ४४.२ किलोमिटरको दूरी ४ घण्टा १२ मिनेटमा पार गर्दै प्रथम भए । करण रावल ४ घण्टा १३ मिनेटमा दूरी पार गर्दै दोस्रो भए भने ४ घण्टा १९ मिनेटमा उक्त दूरी पार गर्दै तेस्रो स्थान भए । उनीहरूले क्रमशः नगद १ लाख ५०, १ लाख र ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।

त्यस्तै, महिलातर्फ खोटाङकी निर्मला राईले ५ घण्टा ४० मिनेट ३६ सेकेन्डमा दूरी पार गर्दै प्रथम, सुनसरी रोकाया ५ घण्टा ४० मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै द्वितीय र कल्पना बुढा ५ घण्टा ४० मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै तृतीय भए । उनीहरूले क्रमशः नगद १ लाख ५०, १ लाख र ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा सहभागी इलाम, पाँचथर र ताप्लेजुङका खेलाडीलाई भने स्थानीय धावकका रूपमा छुट्टै पनि मूल्यांकन गरी पहिलो, दोस्रो, तेस्रो र चौथो घोषणा गर्दै पुरस्कृत गरिएका छ ।

स्थानीय धावकका रूपमा पाँचथरका राजन मेन्याङ्बोलाई ४ घण्टा ३९ मिनेट १० सेकेन्डमा दूरी पार प्रथम, पाँचथरकै विशाल राईले ४ घण्टा ४३ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै द्वितीय, इलामका राजेन्द्र लिम्बूले ४ घण्टा ४९ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै तृतीय र ताप्लेजुङका रमेश लिम्बूले ५ घण्टा ३ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै चौथो भए ।

स्थानीय धावकका रूपमा विजयी खेलाडीले  क्रमशः २५ हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×