
विराटनगर । ‘अप्रेन्टिसीप केवल तालिम होइन, जीवन परिवर्तन गर्ने यात्रा हो’ भन्ने नारासहित आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनको आयोजनामा ‘अप्रेन्टिसीप इज द फ्युचर’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षालय र उद्योगबीचको सहकार्य तथा अप्रेन्टिसीप कार्यक्रमको महत्वबारे छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अप्रेन्टिसीपले युवालाई व्यवहारिक सीपसहित आत्मविश्वासी र रोजगारीयुक्त बनाउने बताए ।
उनले वर्तमान परिवेशमा अप्रेन्टिसीप कार्यक्रम अत्यन्तै आवश्यक र प्रभावकारी भएको धारणा व्यक्त गर्दै युवाहरूलाई कक्षा कोठामा सीमित नराखी वास्तविक औद्योगिक वातावरणसँग प्रत्यक्ष जोड्न सके भविष्यका पेशागत चुनौतीहरूको सामना गर्न सक्षम, योग्य बन्नसक्ने बताए ।
सीटीईभीटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले उद्योगको आवश्यकता र युवाको क्षमताबीचको दूरी घटाउन अप्रेन्टिसीप प्रभावकारी माध्यम भएको उल्लेख गरे । इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, शिक्षा र सीप विकासबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग–शिक्षा सहकार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय, उद्योग सहकार्यलाई मजबुत बनाउँदै विद्यार्थीलाई अध्ययनसँगै रोजगारमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न कार्यक्रम प्रभावकारी माध्यम भएको बताए ।
अप्रेन्टिसीप कार्यक्रम संयोजक तथा सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले अप्रेन्टिसीप कार्यक्रमले विद्यार्थीलाई कक्षा कोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा प्रयोग गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे । विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधि, शिक्षक तथा अप्रेन्टिसहरूको सहभागिता रहेको थियो ।

























