
विराटनगर । झापाको दमकमा ‘प्रथम दमक नमुना च्याम्पियनसिप ब्याडमिन्टन’ प्रतियोगिता हुने भएको छ ।
दमक नमुना ब्याडमिन्टन एकेडेमीका अध्यक्ष प्रकाश राईले बिहीबार जारी गरेको विज्ञप्तिमा पुसको दोस्रोदेखि पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।
अध्यक्ष राईका अनुसार पुस १० देखि १२ गतेसम्म दमक–७ स्थित एकेडेमीको कभर्ड हलमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा विभिन्न ७ विधामा प्रतिस्पर्धा हुनेछ । खुला पुरुष युगल, खुला मिक्स युगल, खुला महिला युगल, खुला १ सय प्लस पुरुष मास्टर युगल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुला पुरुष युगल, प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष तथा महिला गरी ७ विधामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
कुल ६ लाख ६५ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा खुला पुरुष युगल र १ सय प्लस पुरुष मास्टर युगलतर्फको विजेता, उपविजेता र सेमिफाइनलिष्टले नगद ७१ हजार, ५१ हजार र ४१ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै, मिक्स युगल, महिला युगल र ‘बी’ डिभिजन खुला पुरुष युगलतर्फ ४१ हजार, ३१ हजार र २१ हजार, उमेर समूहतर्फ १० हजार, ६ हजार र ६ हजारसहित मेडल ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित लागत २४ लाख ७४ हजार रहेको आयोजकले जनाएको छ ।



















