विराटनगरको सहिद मैदानको सरसफाइ 

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ४, शुक्रबार १२:०३
विराटनगरको सहिद मैदानको सरसफाइ 

विराटनगर । थुप्रिएको फोहर र संरक्षणविहीन अवस्थामा रहेको विराटनगरको प्रमुख खेलकुद स्थल सहिद मैदानमा सरसफाइ गरिएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङको आयोजनामा मैदानका विभिन्न भागमा फालिएका फोहर संकलन गरी सरसफाइ अभियान सञ्चालन गरिएको हो । जिल्ला खेलकुद विकास समिति मातहतमा रहेको सहिद मैदान पछिल्लो समय फोहर र उचित संरक्षणको अभावका कारण आलोचित हुँदै आएको थियो ।

मैदानको सरसफाइका लागि प्रतियोगिता वा विशेष कार्यक्रम नै पर्खनुपर्ने प्रवृत्तिका कारण फोहर थुप्रिने गरेको छ भने भौतिक संरचना जीर्ण बन्दै जाँदा समेत सम्बन्धित निकाय मौन बस्दा समस्या झन् जटिल बनेको खेलाडीहरूको गुनासो रहेको छ ।

सरसफाइ कार्यक्रममा सहभागी हुँदै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहिद मैदानलाई खेलकुदको ‘धार्मिक स्थल’ का रूपमा उल्लेख गर्दै यसको सफाइ र संरक्षण सबैको साझा दायित्व भएको बताए ।

खेलाडी उत्पादन हुने ऐतिहासिक थलोमा फोहर हुँदा अभ्यासका लागि आउने ससाना बालबालिका, खेलाडी, प्रशिक्षक तथा योगा अभ्यास गर्ने व्यक्तिहरूलाई समस्या हुने गरेको उनले उल्लेख गरे ।

प्रदेश र जिल्ला तहका खेलकुद निकायले यस मैदानलाई पर्याप्त ध्यान नदिँदा संघको अग्रतामा सरसफाइ अभियान सञ्चालन गर्नुपरेको बताउँदै,  मेयर कोइरालाले भने, ‘राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने गौरवशाली मैदानलाई हेर्ने दृष्टिकोणमा गम्भीरता देखिनुपर्छ । यो विराटनगरको गहना हो, यसको संरक्षण र सफाइ सबैको दायित्व हो । खेलकुद गतिविधि आयोजना हुँदा शुल्क लिने गरिएको र संकलित शुल्कको केही हिस्सा मैदानको सरसफाइ र व्यवस्थापनमा खर्च गर्नुपर्छ ।’

पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कोमल खवासले खेलकुद स्थलको सफाइ सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताए । उनले विराटनगरको गौरवको प्रतीक सहिद मैदानलाई सुरक्षित र दिगो रूपमा जोगाइराख्न सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङका अध्यक्ष अनुज बानियाँले खेलकुद हुने स्थललाई सफा र सुरक्षित राख्नुपर्नेमा जोड दिए । उनले फोहर र अव्यवस्थाले खेलाडी तथा बालबालिकामा नकारात्मक सन्देश जाने भएकाले सरसफाइ अभियान अघि बढाइएको बताए ।

सरसफाइ अभियान मोरङ काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेपाल खेलकुद कर्मचारी संघका पूर्वअध्यक्ष रञ्जन थापा, प्रदेश खेलकुद विकास बोर्डकी पूर्वउपाध्यक्ष बिन्दिया कार्की, मोरङ जिल्ला फुटबल संघका पदाधिकारी, विराट गोल्डकप ट्रस्टका पदाधिकारी, संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×