
विराटनगर । विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर विद्यालय क्रिकेट’ प्रतियोगितामा ग्रिनल्याण्ड र सत्यनारायण स्कुल विजयी भएका छन् ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा ग्रिनल्याण्डले भगवती स्कुललाई १ सय २३ को फराकिलो रनमा पराजित गरेको हो ।
टस जितेर ब्याटिङ थालेको ग्रिनल्याण्डले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको थियो । ग्रिनल्याण्डका प्लेयर अफ द म्याच प्रिन्स यादवले १ सय ३ रनको योगदान गरे । भगवतीका अविरामले २ विकेट लिए ।
१ सय ८७ रन चुनौती पछ्याउने क्रममा भगवतीले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ५९ रनमा सीमित भयो । रोहित साहले २१ रन बनाए । ग्रिनल्याण्डका प्रकाश यादव र अनिष रायले समान ३–३ विकेट लिए ।
त्यस्तै, दिनको दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यु मुन स्कुललाई १ सय ४ को फराकिलो रनमा पराजित गर्यो ।
सत्यनारायणले टस जितेर पहिलो ब्याटिङ थाल्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । आकाश यादवले ५६ रन, प्लेयर अफ द म्याच मनिष कामतले ५० रन जोड । न्यु मुनका सोहेल आलमले २ विकेट लिए ।
न्यु मुनले पाएको १ सय ७६ रनको लक्ष्य भेटाउने क्रममा १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७१ रनमै समेटियो । समिर आलमले सर्वाधिक २२ रन बनाए । सत्यनारायणका मनिष कामत र अरविन्द यादव २–२ विकेट लिएका थिए ।

























