
विराटनगर । विराटनगर महानगरपालिका स्तरीय ‘१८ औं राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
विराटनगर महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । पुस ९ गतेदेखि हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महानगरपालिकाको आयोजना तथा एभरेस्ट स्कुलको संयोजनमा पुस ११ गतेसम्म हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रतियोगितामा महानगर क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीबीचको प्रतिस्पर्धा हुने र प्रतियोगितामा सबै विद्यालयका खेलाडीको उत्साहपूर्ण सहभागिता हुने बताए ।
उनले संस्थागत विद्यालयका विद्यार्थीहरू मात्रै सबै कुराले पोख्त हुने कुरालाई चिर्दै सामुदायिक विद्यालयका विद्यार्थीले यो प्रतियोगिता लगातार ३ वर्ष जितेर रनिङ शिल्ड आफ्नो बनाएको उल्लेख गरे ।
पछिल्लो समय सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार खेलकुदका गतिविधिलगायत अन्य अतिरिक्त क्रियाकलाप हुने गरेको सुनाउँदै, मेयर कोइरालाले भने, ‘यस प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता हुने गरेको छ । निर्देशिका अनुसारका खेल हुन्छ । महानगर आयोजक भए पनि संयोजन विभिन्न विद्यालयले गर्दै आएको छ । यस पटक एभरेस्ट स्कुलले संयोजनको जिम्मेवारी पाएको थियो भने गत वर्ष सामुदायिक विद्यालयले गरेको थियो । महानगरको बजेटभन्दा बढी खर्च हुने हुँदा थप खर्च संयोजन गर्ने विद्यालयले गर्ने गरेका छन् ।’
महानगरले प्रतियोगिताका लागि १० लाख बजेट छुटाएको र प्रतियोगिता गर्दा लाग्ने थप रकम संयोजन गर्ने एभरेस्टले व्यहोर्ने बताइएको छ ।

























