
विराटनगर । कोशी प्रदेशमा स्थानीय र रैथाने जातका बालीको बिउ लोप हुँदै गएको निष्कर्षसहित हरेक स्थानीय तहमा अनिवार्य रूपमा सामुदायिक बिउ बैंक स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
‘१ पालिका, १ सामुदायिक बिउ बैंक’को अवधारणालाई प्रदेशस्तरको नीति र कार्यक्रममै समेटेर कार्यान्वयनमा लैजान सरोकारवाला निकाय, कृषि विज्ञ, सरकारी अधिकारी तथा स्थानीय तहका प्रतिनिधिहरूले जोड दिएका छन् । बुधबार विराटनगरमा आयोजना गरिएको ‘कोशी प्रदेशमा सामुदायिक बिउ बैंकः वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले रैथाने बिउ संरक्षण अब वैकल्पिक विषय नभई खाद्य सुरक्षा, पोषण, वातावरणीय सन्तुलन र दिगो कृषि प्रणालीसँग प्रत्यक्ष जोडिएको अनिवार्य मुद्दा बनिसकेको बताएका हुन् ।
कार्यक्रम जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–वर्ड) पोखराको सहकार्यमा कृषि विकास निर्देशनालय कोशी प्रदेशसँग समन्वय गरी सामुदायिक बिउ बैंक संघ नेपाल कावासोती नवलपरासीले आयोजना गरेको थियो । कार्यक्रममा सामुदायिक बिउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार तथा कृषि विज्ञ पिताम्बर श्रेष्ठले सामुदायिक बिउ बैंक वर्तमान मात्र नभएर भविष्यको खाद्य सुरक्षा र कृषि अनुसन्धानको मेरुदण्ड भएको स्पष्ट पारे ।
उनका अनुसार स्थानीय बाली विविधताको संरक्षण, उपयोग र प्रवर्धनका विषयमा समुदाय, सरोकारवाला निकाय र राज्य संरचनामै पर्याप्त चेतना र प्राथमिकताको अभाव छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती कार्यक्रमहरू स्थानीय बिउ संरक्षणमा केन्द्रित हुन नसक्दा बाली विविधता जोगाउने अभियान कमजोर बनेको उनले बताए ।
कृषि विज्ञ श्रेष्ठले बसाइँसराइ, जलवायु परिवर्तनजन्य प्राकृतिक विपत्ति, आधुनिक खेती प्रणालीको एकोहोरो विस्तार र बजारकेन्द्रित बिउ प्रयोगका कारण स्थानीय जातका बालीहरू तीव्र गतिमा हराउँदै गएको उल्लेख गरे । विगत लामो समयदेखि गैरसरकारी संस्थाहरूले सामुदायिक बिउ बैंकको क्षेत्रमा काम गर्दै आए पनि राज्यको स्पष्ट नीति, बजेट र संस्थागत स्वामित्व नहुँदा अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । उनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच साझा प्रतिबद्धता र सहकार्यबिना रैथाने बिउ संरक्षण सम्भव नहुने धारणा राखे ।
श्रेष्ठले बिउको रैथाने र स्थानीय जातबारे सरकारसँग कुनै तथ्यांक नभएको बताए । उनले भने, ‘जंगली जनावरको तथ्यांक सरकारसँग छ । रैथाने र स्थानीय बिउसँग सम्बन्धित तथ्यांक नै छैन । सरकारले यसमा विभेदको नीति लिएको देखिन्छ ।’
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले प्रदेश सरकारले स्थानीय तथा रैथाने जातका बिउ संरक्षणका लागि क्रमशः काम अघि बढाइरहेको बताए । उनले इच्छुक स्थानीय तहसँग सहकार्य गर्दै आगामी आर्थिक वर्षदेखि सामुदायिक बिउ बैंकसम्बन्धी कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेट्ने सम्भावना रहेको स्पष्ट पारे ।
यद्यपि, सबै स्थानीय तहलाई एकै पटक समेट्न व्यवहारिक कठिनाइ हुने उल्लेख गर्दै पालैपालो संरक्षण अभियान सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाइ थियो । पोखरेलले सरकारी तथा सार्वजनिक कार्यक्रममा स्थानीय उत्पादनबाट बनेका परिकारलाई खाजाका रूपमा प्रयोग गरेर रैथाने बालीको माग र पहिचान दुवै बढाउनुपर्नेमा पनि जोड दिए ।
सामुदायिक बिउ बैंक संघ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आर्थिक वर्षमा कोशी प्रदेशकै पहलमा प्रदेशका विभिन्न जिल्लामा सामुदायिक बिउ बैंकलाई मूल प्रवाहमा ल्याउने सम्भावना खोज्न र विस्तारको स्पष्ट मार्गचित्र पहिचान गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार बिउ बैंक भण्डारण केन्द्र नभई किसान, अनुसन्धानकर्ता र नीतिनिर्माताबीचको सेतुका रूपमा विकास हुन आवश्यक छ ।
कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाश डाँगीले कोशी प्रदेशको भौगोलिक विविधता र बाली प्रणालीलाई हेर्दा सामुदायिक बिउ बैंक अपरिहार्य भइसकेको बताए । कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनका लागि स्थानीय तहको सक्रियता र प्रदेशस्तरीय समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि विभागका वरिष्ठ बाली विकास अधिकृत अमृत रेग्मीले कृषि जैविक विविधता संरक्षण र सामुदायिक बिउ बैंक सुदृढीकरणसम्बन्धी नीति तथा कार्यक्रमहरू निर्माणको चरणमा रहेको जानकारी दिए । राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाले राष्ट्रिय जीन बैंक र सामुदायिक बिउ बैंकबीचको सम्बन्ध, भूमिका र सहकार्यबारे विस्तृत प्रस्तुति दिएका थिए ।
कार्यक्रममा मोरङ, झापा, संखुवासभा र भोजपुरका सामुदायिक बिउ बैंकका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका बिउ बैंकको वर्तमान अवस्था, असल अभ्यास, सिकाइ र चुनौतीबारे अनुभव सुनाएका थिए । कार्यक्रममा सहभागी स्थानीय तहका कृषि शाखा प्रमुख तथा कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरूले स्थानीय तथा रैथाने जातका बिउ प्रवर्धनका लागि किसानलाई अनुदान, तालिम र प्राविधिक सहयोग प्रदान गर्दै आएको जानकारी दिए ।
हाल कोशी प्रदेशमा ४ वटा सामुदायिक बिउ बैंक मात्र सञ्चालनमा छन् । मोरङको चारपाते बिउ बैंक, झापाको शिवगञ्ज सामुदायिक बिउ बैंक, संखुवासभाको तामाफोक सामुदायिक बिउ बैंक र भोजपुरको षडानन्द बिउ बैंकले सीमित स्रोत र संरचनामै स्थानीय बिउ संरक्षणको जिम्मेवारी वहन गरिरहेका छन् ।
कार्यक्रमका सहभागीहरूले प्रदेशभर फैलँदो बिउ संकटको सामना गर्न ‘१ पालिका–१ सामुदायिक बिउ बैंक’लाई नीतिगत रूपमै लागू गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । कोशीमा रैथाने बिउको संकट समाधान गर्न रैथाने बिउ जोगाउने बहसलाई तीव्र रूपमा अघि बढाइएको छ ।

























