
विराटनगर । विराटनगरमा जारी चौथो विराटनगर हब अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । सरस्वती गत वर्षको विजेतासमेत हो ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गर्दै उपाधि जित्यो ।
टस जितेर पहिलो ब्याटिङ थालेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८३ रनमै समेटियो । विकाश कामत र रोहित कामतले समान १९–१९ रन बनाए । सत्यनारायणका मनिष कामत, राहुल यादव र शत्रुधन चौधरीले २–२ विकेट लिए ।
सत्यनारायणले पाएको ८४ रनको लक्ष्य भेटाउने क्रममा १२ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा ४३ रनमै सीमित भयो । सागर यादवले १६ रन बनाए भने सरस्वतीका प्रशान्त यादवले ४ विकेट र सुरज मण्डलले ३ विकेट दिए ।
प्लेयर अफ द म्याच सरस्वतीका प्रशान्त यादव र सुरज मण्डल संयुक्त रूपमा भए । प्लेयर अफ द सिरिज ग्रिनपिसका मिराज शेख, उत्कृष्ट ब्याटर ग्रिनल्याण्डका प्रिन्स यादव र उत्कृष्ट बलर सरस्वतीका प्रशान्त यादव भए ।



















