
विराटनगर । विराटनगरमा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शीर्ष स्थानमा आदर्श माध्यमिक विद्यालय रहेको छ ।
प्रतियोगिताको दोस्रो सम्पन्न भएका खेलबाट आदर्श माविले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै शीर्ष स्थान कायम गरेको हो । यस अघि भएका राष्ट्रपति रनिङ शिल्डको लगातार ३ पटक आदर्शले जित्दै शिल्ड आफ्नो कब्जामा बनाइसकेको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेस्ट स्कुलको संयोजनमा भएको प्रतियोगितामा एभरेस्ट ५ स्वर्ण, २ रजत र ६ कास्यका साथ द्वितीय र सगरमाथा ३ स्वर्ण, २ रजत र १ कास्यका साथ तृतीय स्थानमा रहेका छन् ।
३ हजार मिटर दौडको छात्रतर्फ सत्यनारायण माविका चन्दन साहले स्वर्ण, मिल्स माविका चन्दन सहनीले रजत र जनता माविका कृष्ण अधिकारी कास्य पदक जिते छात्रातर्फ आदर्श माविकी अर्चना राजवंशीले स्वर्ण, जनता माविकी बबिता रानाले रजत र सत्यनारायण माविकी आँचल मण्डलले कास्य पदक जिते ।
हाइजम्प छात्रतर्फ पोखरियाका हरिबहादुर परियारले स्वर्ण, सत्यनारायणका प्रियान्सु साहले रजत र जनताका राहुल यादवले कास्य पदक जिते भने छात्रातर्फ सेन्टमेरिजकी उर्जा भट्टराईले स्वर्ण, आदर्शकी अन्जिला भट्टराईले रजत र मदरटेरिसाकी पूजा यादवले कास्य पदक जिते ।
त्सैसैगरी, ८ सय मिटर दौड छात्रातर्फ जनताकी भूमिका राजवंशीले स्वर्ण, आदर्शकी निशा मण्डलले रजत र पोखरियाकी पावैपती कामतले कास्य पदक प्राप्त गरे ।
पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाका ६५ विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ ।

























