फायल फोटो ।विराटनगर । मोरङको पथरीशनिश्चरेबाट प्रहरीले बिहीबार साँझ तस्करीका कपडा बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै झापाबाट पथरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६९८ नम्बरको म्याजिक भ्यानलाई प्रहरीले साँझ ६ बजेतिर पथरीशनिश्चरे नगरपालिका–१ पथरी बजारबाट
नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । इलाका प्रहरी कार्यालय पथरीको टोलीले म्याजिक भ्यानमा खानतलासी गर्दा ५७ थान ज्याकेट, ३ सय ९३ थान स्वीटर, १ सय ८२ थान ट्राउजर, ४ थान जिन्स पाइन्ट, ८ थान लङकोट र ९ थान कोट फेला परेको थियो ।
प्रहरीका अनुसार ४ लाख ७० हजार ६ सय रूपैयाँ बराबरका अवैध कपडा बरामद भएको छ । भन्सार छली गरेर भारतबाट भित्राएको कपडा फेला परेसँगै प्रहरीले भ्यान र चालक झापाको मेचीनगर नगरपालिका–१३ का ४३ वर्षीय कृष्णबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा चालकले कपडाको बिल देखाउन सकेनन् । बरामद कपडा, भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























