
काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा ९ औँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा ३ विभागीयसहित ५ टोलीको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए ।
नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा विगतमा झै एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिने छ ।
खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । सुरुका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो । ७ औँ मा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा प्रहरी पहिलो भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको बताए ।
महिला खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतिष्ठानले २०७२ सालदेखि प्रतियोगिताको सुरुआत गरेको थियो ।

























