
भद्रपुर । चालु आर्थिक वर्ष २०८२–०८३ को ५ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट अलैँची निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
मंसिर मसान्तसम्म अलैँचीको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० दशमलव १० प्रतिशतले बढेको हो । मेची भन्सार कार्यालयको तथ्यांक अनुसार यो अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची विदेश निर्यात भएको छ ।
अलैँचीको निर्यात अवस्था पूर्वी नेपालका किसान र व्यापारीका लागि उत्साहजनक संकेत हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २ हजार ६ सय २२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को यही अवधिमा अलैँची निर्यात ३ अर्ब ४५ करोड ६३ लाखमा सीमित थियो । यस वर्ष निर्यात मूल्य र परिमाण दुवैमा भएको वृद्धिले अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढिरहेको देखिएको छ ।
विशेष गरी भारतसहित तेस्रो मुलुकमा निर्यात बढ्नुले पूर्वी पहाडी जिल्लाका कृषकको आम्दानीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । अलैँचीको निर्यातमा उत्साहजनक वृद्धि देखिँदा पनि चियाको निर्यात भने घट्दो क्रममा देखिएको छ ।
भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आवको पाँच महिनामा चिया निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । यस अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार बराबरको चिया मात्र निर्यात भएको छ ।
अघिल्लो आव २०८१–०८२ को सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । उत्पादन लागत, अन्तर्राष्ट्रिय मूल्य र प्रतिस्पर्धी बजारको दबाबका कारण चिया निर्यात प्रभावित भएको व्यापारीहरूको बुझाइ छ ।
मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूतर्फ हेर्दा केहीमा उल्लेखनीय वृद्धि देखिएको छ भने केहीमा गिरावट आएको छ । चालु आवको ५ महिनामा भेनीयर सिटको निर्यात १२९ दशमलव ९० प्रतिशतले बढेको छ । छुर्पी ३२ प्रतिशत, अदुवा र सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० प्रतिशतले वृद्धि भएको छ ।
मुसुरो दालको निर्यातमा त झनै उल्लेखनीय उछाल देखिएको छ । जसमा ४८१ प्रतिशतले वृद्धि भएको भन्सारको तथ्यांकले देखाउँछ । तथ्यांकले कृषि र प्रशोधित वस्तुको निर्यातमा विविधता बढ्दै गएको संकेत गर्छ ।
तर, सबै वस्तुमा सकारात्मक चित्र भने देखिएको छैन । प्लाउडको निर्यात ४६ प्रतिशतले घटेको छ । अम्रिसो निर्यात ३५ दशमलव ५० प्रतिशतले घट्दा फलामे पाताको निर्यातमा ९७ दशमलव ८० प्रतिशतले घटेको छ । उद्योगजन्य वस्तुको निर्यात घट्नुले कच्चा पदार्थ, ऊर्जा लागत र बजार पहुँचका समस्यातर्फ संकेत गरेको विश्लेषण छ ।
समग्रमा हेर्दा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो ५ महिनामा मेची भन्सारबाट १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ । अलैँचीको निर्यातले समग्र व्यापारलाई माथि तानेको भए पनि चिया र केही औद्योगिक वस्तुमा आएको गिरावटले व्यापार सन्तुलनलाई चुनौती दिएको देखिन्छ ।
आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्था, मूल्य स्थिरता र सरकारी सहजीकरणले निर्यातको गति कस्तो रहने भन्ने चासो बढेको छ । मालवस्तुको निर्यातमा वृद्धि गर्न सरकारले चासो दिनुपर्ने व्यापारीहरु बताउँछन् ।

























