
विराटनगर । पशु क्वारेन्टाइन कार्यालय विराटनगरको आयोजनामा मोरङका सरोकारवाला निकायहरूबीच क्वारेन्टाइन समन्वय बैठक आइतबार सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पशु क्वारेन्टाइनलाई सार्वजनिक स्वास्थ्य र राष्ट्रिय सुरक्षाको संवेदनशील विषयका रूपमा व्याख्या गरियो।
बैठकमा प्रमुख जिल्ला अधिकारी कट्टेलले पशुजन्य रोगले मानव स्वास्थ्य र अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै सबै निकायबीचको समन्वयमा जोड दिए। पशु क्वारेन्टाइन कार्यालयका डा. विदुर गौतमका अनुसार बैठकमा सीमावर्ती क्षेत्रबाट हुने अवैध पशु प्रवेश रोकथाम, संक्रामक रोग नियन्त्रण र नियमित अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र पालिकाहरूबीच सूचना आदानप्रदान तथा संयुक्त अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता समेत सहभागीहरूले जनाएका छन्।

























