प्रविधिमा आएको आमूल परिवर्तनकै कारण हिजोको प्रविधि आज त्यस्तै रहँदैन । विकासको सुरुवातमा कम्प्यूटरको आकार ठूला थिए । आज हातमा अटाउनेसम्मका आउन थाले । आजको रूप भोलि नहुन सक्छ । प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ ।
यो विकाससँगै सञ्चारमाध्यमको स्वरूप परिस्कृत हुँदै जानु स्वभाविक हो । पछिल्लो दशक इन्टरनेटको विकासपछि ‘न्यू–मिडिया’को प्रभाव तीव्र छ । सूचना प्रविधिमा आएको परिवर्तनले नागरिक आजको घटनालाई विस्तृतमा पढ्न भोलि पर्खदैनन् । तत्काल अनलाइन र सामाजिक सञ्जाल ‘सर्च’ गर्ने जमाना छ । समाचारको भोक जोकोही आजै मेटाउन चाहन्छ । त्यसैले अनलाइन मिडियामा समाचार पस्कने तरिका र रफ्तार बढ्दै छ । आमहिसाबले परिवर्तन हुँदै छ । कारण – आमदर्शक र पाठकको विश्वसनीय एवं तथ्यपरक सूचनाप्रतिको चाहनामा विविधता थपिनु नै हो ।
सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना छिटो, सही र फोटोका साथै भिडियोमा पनि हेर्न रुचाउँछन् । छिन–छिनको खबर पाठक र दर्शक माझ पुर्याउने महत्वपूर्ण भूमिका अहिलेका सञ्चारमाध्यमको हो । त्यसैले अनलाइनको महत्व ह्वातै बढेको छ ।
अहिले परम्परागत र नयाँ सञ्चारमाध्यमबीच प्रतिस्पर्धाजस्तो देखिए पनि प्रविधिको तीव्र विकाससँगै ‘मिडिया’ साक्षरताको गति मिल्नुपर्छ । यसका लागि आममानिसमा जागेको सही सूचनाको चाहनालाई सम्बोधन गर्न नयाँ ‘डिजिटल प्लेटफर्म’ महत्वपूर्ण माध्यम बन्नसक्छ ।
अनेक जानकारी लिन विभिन्न अनलाइन हेर्नुपर्ने बाध्यता चिर्न अहिलेको ‘डिजिटल’ सञ्चारमाध्यमको चुनौती हो । त्यही चुनौतीलाई आत्मसात् गर्दै र नागरिकको चाहनालाई बुझ्दै कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्रमा राखेर मुलुकी सञ्चार नेटवर्कमार्फत ‘मुलुकी खबर डट कम’ अनलाइन ल्याएका छौँ ।
सामाजिक सञ्जालको विकाससँगै सूचना र जानकारीको प्रवाह सेकेण्ड–सेकेण्डमा भइरहेको छ । जानकारी दिने र लिने गति बढेको छ । केही समय इन्टरनेट प्रवाह बन्द भए नागरिकले अन्धकार महसुस गर्न थालेका छन् । यो अवस्थामा ‘डिजिटल’ माध्यमबाट ‘फेक न्यूज’ पनि सँगसँगै प्रवाह हुन थालेको छ । आधिकारिक सूचना खोज्न नागरिकले धेरैतिर भौतारिनुपर्ने अवस्था छ । ‘डिजिटल’ माध्यममा ‘फेक न्यूज’को समस्या बढेको छ ।
प्रविधिको विकाससँगै भ्रामक सूचनाले समाजलाई दिग्भ्रमित पार्ने खतरा पनि दिनानुदिन बढ्दो छ । यो समस्यालाई चिरेर हामी सही सूचना अनलाइनसँगै अनलाइनका आधिकारिक सामाजिक सञ्जालबाट छिन–छिनमा दिने प्रतिबद्धता जनाउँछौँ ।
नागरिकको सूचनाको भोकलाई हामीले लामो समय अध्ययन गरेका छौँ । नागरिकको चाहना मात्रै नभई समाजलाई सकरात्मक दिशामा लैजाने समाचार र जानकारी अब हामी दिनेछौँ ।
सञ्चारमाध्यम सन्तुलित, विश्वसनीय एवं तथ्यपरक सूचना प्रवाह गर्ने हुनुपर्छ । सञ्चार क्षेत्रमा देखापरेका नयाँ चुनौतीको समाधान पनि मुलुकी खबरमार्फत नै गर्ने प्रयत्न हामीबाट हुनेछ । मोफसलमा भए पनि अनलाइनको कुनै सीमा हुँदैन । त्यसैले अब सूचनाको आधिकारिकता र विश्वसनीयताको नेतृत्व लिने गरी हामी तयार भएका छौँ ।
हामी तथ्यपरक सूचना दिने अभियानमा छौँ । नेपालमा कानुनको संहिताकरण भएको ६ वर्ष पूरा हुँदासमेत अपराधमा अपेक्षाकृत कमी आएको छैन । पीडितमैत्री कानुन भनेपनि अपराधको जालोमा जेलिएर समाजमा जटिलता बढ्दै गएको तथ्यहरु छन् । कानुनको प्रयोगमा पीडितको सहज पहुँच पुग्न नसकेको र पीडकले पनि प्रचलित संविधान एवं कानुन अनुसारका अधिकारहरुको प्रयोग गर्न नपाएको परिदृष्यलाई आत्मसात् गर्दै राज्यको आँखा नपुगेका वा पुगेर पनि अनदेखा गरिएका नागरिकको न्यायमा पहुँच वृद्धिका लागि सूचना संवाहक बनेर मुलुकी खबरले काम गर्ने दृढ अठोटसहित उपस्थित भएका छौँ ।
पहिले–पहिले धर्म र संस्कृतिका कतिपय पक्षहरुले समाजमा एक प्रकारको अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्थे । समय क्रममा ती उपायहरु समाजमा शान्ति अमनचयन कायम गर्न पर्याप्त भएनन् । बिस्तारै राज्यहरुले संविधान, कानुन र नियमहरु बनाए । कानुनले निर्दिष्ट गरेअनुसार व्यवहार गर्नुपर्ने कुरामा नागरिकलाई सचेत गराउन थाले ।
लोकतन्त्रको आत्मा भनेकै विधिको शासन हो । विधिको शासन र न्याय प्राप्तिको मूल आधार भनेको कानुन हो । कानुनको अज्ञानता क्षम्य हुँदैनभन्ने मान्यता छ । कुनै कानुनबारे जानकारी भएन भन्दैमा अपराध गर्ने छुट कसैलाई हुँदैन । प्रत्येक व्यक्तिले कानुनको जानकारी राख्नुपर्छ र राज्यले कानुनका बारे नागरिकलाई सचेत गराउने जिम्मेवारी वहन गर्नुपर्छ ।
हामीले मूलतः समाजमा जोडिएका हरेक विषयवस्तुलाई कानुनी आधारमा हेर्ने छौँ । त्यसअनुसार विश्लेषण गर्नेछौँ । हाम्रा समाचार, विचार र अन्य सामग्रीहरु नियम कानुनकै सेरोफेरोमा रही तथ्यपरक हुने छन् ।
एकातिर कानुन पालना गर्नुपर्ने कुरामा हाम्रो ध्यानाकर्षण गराउने काम हुनेछ भने अर्कातिर दण्डहीनताको अवस्था आउन नदिन सरोकारवाला निकायलाई झकझकाउने र दबाब दिने पक्षमा पनि हाम्रो पहल रहनेछ । कानुन सबैका लागि बराबर हो भन्ने मान्यतामा रहेर सबैले समान रुपमा न्याय पाउनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ ।
आधिकारिक एवं विश्वसनीय सूचना प्रवाह गर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै हामीले आज (२०८१–०५–०३) देखि तपाईंहरुमाझ औपचारिक रूपमा भेट गरेका हौँ । हाम्रो प्रयासले आमपाठक र दर्शकमा सूचनाको पहुँच बढ्ने तथा तथ्यपरक एवं आधिकारिक सूचना प्राप्त गर्न सहज हुने विश्वास लिएका छौँ ।
हामी तपाईंहरुको चाहना बमोजिम अनलाइन समाचारका साथमा फोटो फिचर र भिडियो सामग्री पनि सँगै ल्याउने छौँ । देश–विदेशका ताजा खबरहरू चाँडो र नियमित रूपमा हामी पस्कने प्रयास गर्छौँ । अब न्याय, समानताका साथै विश्वसनीय र तथ्यपरक समाचार एवं सूचनाका लागि अन्त जानै पर्दैन, www.mulukikhabar.com हेरे पुग्छ ।