नाबालिकाको शव भेटिएको घटनास्थलमा भेला भएका स्थानीय ।विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका नाबालिकाकी आमा अझैसम्म हराइरहेकी छन् ।
स्थानीय र प्रहरीले आइतबार बिहानदेखि खोजी तीव्र पारे पनि फेला पार्न नसकेका हुन् । शनिबार साँझ पनि खोजी गरिएको थियो । २ नाबालिका मृत फेला परेको केराघारी र नजिकै रहेको जंगलमा व्यापक खोजी गर्दा पनि आमालाई नभेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार जानसक्ने सम्भावित स्थान र आफन्तहरु भएका सबै ठाउँमा खोजी गर्दा अवस्था पत्ता लाग्न सकेको छैन । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिकाहरु छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए । स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

केरा बगानभित्र भेटिएको २ नाबालिकाको शव ।
बसेको ठाउँबाट दुवै नाबालिका छोरीलाई लिएर हिँडेको भनिएकी आमा (अर्जुनकी पत्नी) २९ वर्षीया अस्मिता पौडेल भने अझैसम्म फेला परेकी छैनन् । उनको अवस्था अज्ञात छ । अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए ।
निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुन र पत्नी अस्मिताबीच विवाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता शनिबार साँझदेखि हिँडेको जानकारी प्रहरीले पाएको छ । तर, अस्मिता अहिलेसम्म सम्पर्कविहीन छन् भने नाबालिका छोरीहरुको शव फेला परेको हो ।

सम्पर्कविहीन रहेकी अस्मिता न्यौपाने ।
घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने डीएसपी बस्नेतले बताए । यद्यपि, विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै उनले अनुसन्धान सकिएपछि मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी दिए । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।
बाहिरी चोटपटक भने नरहेको जानकारी बस्नेतले दिए । छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुवै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।



















