
विराटनगर । भोजपुरको षडानन्द नगरपालिकाका प्रकाश तामाङलाई स्थानीय प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएको छ ।
परिवारबाट ३५ वर्ष बढी हराएर परिवारको सम्पर्कमा आएका तामाङलाई आइतबार इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले नागरिकताको प्रमाणपत्र दिए ।
षडानन्द नगरपालिका–१० का प्रकाशलाई नागरिकता दिन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेमदोर्जी शेर्पाले समन्वय गरेका थिए ।
प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए । प्रधानमन्त्रीकै चासो हुँदा मेयर, वडाध्यक्ष र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
‘हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशकपछि परिवारको सम्पर्कमा पुगेका थिए । गोरखाको चुमभ्यालीबाट परिवारको सम्पर्कमा आएका उनलाई भोजपुरमा पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ ।

























