विराटनगर । विराटनगरमा पहिलो पटक आयाेजना गर्न लागिएको कृषि एक्स्पाेकाे तयारी पूरा भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले भदाै २७ देखि ३० गतेसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको हाे । एक्स्पाे विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा हुनेछ ।
एक्स्पाेमा १३० वटा स्टल रहने नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । एक्स्पाेमा भारतकाे काेलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरु रहने उनले बताए ।
एक्स्पाे अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिङ्ग,क्लाइमेट चेन्ज , जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायत विषयमा नेपाल र भारतका विज्ञकाे सहभगीतामा सम्वाद राखिएको छ ।
कृषि अौजारकाे प्रदर्शनी, उन्नतजातका पशुपंक्षीकाे प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजकाे प्रतियोगिता खेतदेखि भान्साकाे अनुभव र फुट फेस्टिवल गरिने उनले बताए ।
मेलामा अवलाेकनका लागि बाहिर जिल्लाबाट आउनेका लागि खाना र बस्न निशुल्क गरिएको अध्यक्ष राउतले बताए । पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए ।