फाइल फाेटाेविराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार राति जंगली हात्तीको हुल देखा परेको छ ।
सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा राति ११ः३० बजेतिर ६/७ वटाको संख्यामा हात्ती देखा परेका हुन् । हात्तीको बथानले गाउँ छिरेर स्थानीयको घर भत्काइदिएको छ ।
स्थानीय रहरमान राईको इँटाको घेराबारा र टिनको छानो भएको १ तले घर हात्तीले भत्काइदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईको घरको पूर्वतर्फको भाग भत्काएर हात्तीले क्षति पुर्याएको छ ।
हात्तीले घर भत्काउँदा ६० हजार मूल्य बराबरको क्षति भएको छ । प्रहरी, वन कर्मचारी र स्थानीयको सहयोगमा हात्तीलाई राति १२ बजेतिर जंगलतर्फ धपाइएको थियो ।
हात्तीले मानवीय क्षति भने गरेको छैन । जंगली हात्ती वस्तीनजिक देखा परेका कारण सचेत हुन प्रहरीले सबैमा आग्रह गरेको छ । हात्तीलाई जिस्क्याउने, लखेट्ने र असर पुग्ने गतिविधि नगर्न पनि प्रहरीको अनुरोध छ ।

























