
विराटनगर । काठमाडौंबाट यात्रु लिएर विराटनगर आएका २ वटा जहाज अवतरण हुन नसकेपछि काठमाडौं नै फर्किएका छन् ।
विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं नै फर्किएका हुन् । विराटनगर विमानस्थलका प्रमुख सुवास झाका अनुसार काठमाडौंबाट यात्रु लिएर यति र बुद्ध एयरलाइन्सका जहाज उडेका थिए ।
मौसम खराबीका कारण अवतरण हुनसक्ने अवस्था नभएपछि यात्रुसहित बीचैबाट दुवै जहाज फर्किएको जानकारी उनले दिए । दुवै जहाज काठमाडौं पुगेर अवतरण भइसकेको विराटनगर विमानस्थलले जनाएको छ ।
विमानस्थल प्रमुख झाका अनुसार अहिलेसम्म २ वटा जहाजले मात्रै उडान भरेका छन् । बुद्ध र श्री एयरलाइन्सका जहाज काठमाडौंबाट आएर फर्किसकेका छन् ।
विराटनगरका लागि दिउँसो १२ः३० बजेसम्म ६/७ वटा उडान हुनुपर्ने हो । तर, बुद्ध र श्री एयरलाइन्सका २ वटा जहाजले मात्रै उडान भर्न सकेको झाले बताए । ‘आकाशको रुट खराब भएर उडानमा समस्या भइरहेको छ,’ उनी भन्छन्, ‘इन–रुट वेदरले गर्दा यस्तो भएको हो ।’
लगातारको वर्षाका कारण मौसम खराब भएर भिजिविलिटी नपुग्दा उडानमा समस्या हुने उनले बताए । मौसम खराबीका कारण देशैभरको हवाई सेवा प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय उडान भने सुचारु रहेको बताइन्छ ।

























