
सुनसरी । कोशी ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ । सप्तकोशी नदीको बहाव उच्च भएर पुलबाटै पानी बग्न थालेको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार ब्यारेजको पुलको १८ नम्बर ढोकामाथिबाट पानी बगेको छ । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको उनले बताए ।
पुलबाटै पानी बग्न थालेपछि कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको जानकारी रेग्मीले दिए । उनका अनुसार दिउँसो ४ बजे कोशीको बहाव प्रतिसेकेण्ड ५ लाख ४९ हजार क्यूसेक मापन भएको छ ।
स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो । सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्न सक्ने अनुमान छ ।
कोशी ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ । बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्नसक्ने पूर्वानुमान गरेको छ ।
कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । एसपी रेग्मीले ठाउँठाउँमा उद्धार टोली पनि परिचालन गरिएको जानकारी दिए ।

























