विमानस्थल बनाउने मात्रै कि चलाउने पनि सरकार ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन १९, सोमबार १७:००

ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाई महिनादेखि उडान भएको छैन । ९५० मिटर कालोपत्रे भएको यो धावन मार्गमा निजी कम्पनीका साना जहाज पनि बस्न सक्छन् । तर, न निजी कम्पनीले उडान भर्छन्, न त नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाजले नै नियमित उडान भरेका छन् । उडानै ठप्प भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विरामी र अशक्त बढी मारमा परेका छन् ।

नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो । यहाँ सीता, तारा, समिट एयर लगायतका निजी कम्पनीले यसअघि उडान गरेका थिए । तर, अफ सिजनमा उडाउने र पर्यटकीय सिजनमा रोक्ने गरेपछि स्थानीयले विरोध जनाए । त्यसपछि क्रमश बन्द भयो । २०३३ सालमा निर्माण भइ सञ्चालनमा आएको विमानस्थल पचासको दशकमा पुग्दा पनि भरपर्दो हुन सकेको छैन ।

यो विमानस्थल एक उदाहरण मात्रै हो । सरकारले पूर्वाधार निर्माण कति हचुवाका भरमा गर्छ भन्ने ज्वलन्त दृष्टान्त अहिले यस्ता विमानस्थल बनेका छन् । व्यावसायिक सम्भाव्यता अध्ययन नगरी बनाइँदा र निर्माणपछि पनि कसरी चलाउने भनेर गृहकार्य नगर्दा नेपालका धेरै विमानस्थलहरू गौचरनमा परिणत हुँदै गएका छन् । सुकेटार जस्ता केही विमानस्थल फाट्ट फुट्ट चलेका छन् । तर, नियमित छैनन् ।

विमानस्थलको हालत यस्तो हुँदा पनि विभिन्न समयमा बनेका सरकारले नयाँ विमानस्थल थपिरहे । पर्याप्त अध्ययन नगरी र सञ्चालन योजना नबनाई राजनीतिक दबाबका भरमा जथाभावी विमानस्थल निर्माण गर्ने प्रवृत्ति रोकिएन । राज्यस्रोत दोहन भइरह्यो ।

नेपालमा हाल ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा छन् भने बाँकी २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाउँछ ।

यसरी सञ्चालन हुन नसकेका विमानस्थलहरूमा बझाङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, कालिकोट, अछामको कमल बजार, कंगेलडाँडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, रसुवाको लाङटाङ, खोटाङको लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेचौर, चितवनको मेघौली, रोल्पा, ओखलढुंगाको रुम्जाटार, सोलुखुम्बुको स्याङ्बोचे हुन् । प्राधिकरणको रिपोर्टमा टीकापुरलाई बन्द विमानस्थलको सूचीमा राखेको भए पनि अहिले यो सञ्चालनमा आइसकेको छ ।

त्यसबाहेक अन्य ३५ विमानस्थल भने सञ्चालनमा छन् । यसरी सञ्चालित विमानस्थलमध्ये त्रिभुवन, पोखरा र गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन् । आन्तरिक विमानस्थलमध्ये विराटनगर, नेपालगन्ज र धनगढीलाई हब विमानस्थलको रूपमा वर्गीकरण गरिएको छ । यो विमानस्थलबाट विभिन्न विमानस्थलमा उडान हुने गरेको छ । बाँकी २९ आन्तरिक विमानस्थल पनि अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेको विमानस्थलहरूमा बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, डोल्पाको जुफल, डोटी, इलामको फाल्गुनन्द सुकिलुम्बा, गुल्मीको रेसुंगा हुन् ।

विमानस्थल थप्ने मात्र होइन, बन्द भइसकेको विमानस्थललाई व्यावसायिक सम्भावना नहेरी स्तरोन्नतिका नाममा खर्च गर्ने प्रवृत्ति पनि छ । विमानस्थल चल्न यात्रु आउनुपर्छ । महँगो भाडादर र उडान अनिश्चित हुँदासम्म यात्रु अत्यावश्यक अवस्थामा बाहेक विकल्पतिर नै लाग्छन् ।

जनकपुर, जोमसोम, जुम्ला, खानीनन्द, पोखरा, फाप्लु, राजविराज, रामेछाप, मुगुको ताल्चा, रुकुमको सल्ले, अछामको साँफेबगर, बाराको सिमरा, हुम्लाको सिमकोट, सुर्खेत, सोलुखुम्बुको लुक्ला, खोटाङको थामखर्क र संखुवासभाको तुम्लिङटार विमानस्थल समेत सञ्चालनमा रहेका छन् । ताप्लेजुङको सुकेटार विमानस्थललाई पनि सञ्चालन भएकै सूचीमा राखिएको छ ।

चलेका विमानस्थलबाट पनि कहिलेकाहीं एक–दुई जना मात्रै यात्रु बोकेर जहाज उड्नुपर्ने अवस्था छ । कतिपय विमानस्थलमा भरपर्दो सडकको पहुँच विस्तारले त कुनैमा पूर्वाधारको अपर्याप्तताले उडान हुन सकेको छैन । विमान सेवा कम्पनीसँग सीमित संख्यामा जहाज रहेकाले पनि सबैतिर उडान हुन सक्ने अवस्था छैन । उडान नियमित बनाएर यात्रुलाई आकर्षित गर्ने र विमान कम्पनीलाई जहाज थप्दै उडान बढाउनका लागि प्रोत्साहन गर्नेतर्फ सरकारले ध्यान दिएको देखिँदैन । निजी विमान कम्पनीहरूको रोजाइ स्वभावैले यात्रु पर्याप्त हुने विमानस्थलमै पर्छ ।

पहाडी र हिमाली भेगले मुलुकको ठूलो क्षेत्र ओगटेको छ । भरपर्दो सडक सुविधा नभएका र सडक भए पनि गन्तव्यमा पुग्न धेरै समय लाग्ने स्थानका बासिन्दाका लागि विमानस्थल बन्नु राम्रो हो तर बन्नु मात्रै भन्दा पनि सञ्चालन महत्त्वपूर्ण हो । तर लहडका भरमा विमानस्थल बनाइहाल्ने र बनिसकेपछि सञ्चालन योजना पनि तयार नगर्ने प्रवृत्ति रोकिएको छैन । यस्तो लहड सरकार वा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री फेरिएपिच्छे देखिने गरेको छ ।

यसअघिका पर्यटनमन्त्री सुदन किरातीले पनि धरानमा विमानस्थल बनाउन अग्रसरता लिएका थिए । धरान उपमहानगरपालिका प्रमुखको पत्राचारपछि मन्त्री किरातीको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल अध्ययन समिति पनि गठन गर्यो । जबकि विराटनगर विमानस्थलबाट धरान करिब ४० किलोमिटर दूरीमा मात्रै छ ।

विमानस्थल थप्ने मात्र होइन, बन्द भइसकेको विमानस्थललाई व्यावसायिक सम्भावना नहेरी स्तरोन्नतिका नाममा खर्च गर्ने प्रवृत्ति पनि छ । विमानस्थल चल्न यात्रु आउनुपर्छ । महँगो भाडादर र उडान अनिश्चित हुँदासम्म यात्रु अत्यावश्यक अवस्थामा बाहेक विकल्पतिर नै लाग्छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमसँग जहाजको संख्या कम छ । निजी वायुसेवा कम्पनीहरू घाटामा जहाज उडाउन चाहँदैनन् ।

नियमित र पर्याप्त उडान हुन नसके विमानस्थलको खर्च धान्न पनि गाह्रो पर्छ । त्यसैले हचुवाका भरमा जहाँ पनि विमानस्थल बनाउने अभ्यास तत्काललाई रोकिनुपर्छ । बरु त्यसअघि निर्माण भइसकेर पनि बन्द रहेका तर सम्भावना रहेका विमानस्थल सञ्चालनका लागि गृहकार्य थाल्नुपर्छ । सरकारले तत्कालका लागि निजी विमानलाई सहुलियत प्रदान गरेर वा निश्चित गन्तव्यमा अनिवार्य बनाएर पनि सुकेटार जस्ता विमानस्थल सञ्चालनमा ल्याउनुपर्छ । विमानस्थल बनाउने मात्रै होइन चलाउने योजना पनि सरकारले चाँडै बनाओस् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.