
काठमाडौं । बालयौन दुराचार मुद्दामा क्यानेडियन नागरिक पिटर जोन डाल्गलिशलाई ८ वर्ष कैद गर्ने उच्च अदालत पाटनको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । बरामदी मुचुल्का, किटानी बकपत्र गरिदिएका आधार प्रमाणका आधारमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ८ वर्ष कैद सजाय गर्ने उच्च अदालतको फैसला सदर गरेको हो ।
हालसालै सार्वजनिक फैसलाको पूर्णपाठमा भनिएको छ ‘घटनास्थलमा खटिएका प्रहरी प्रतिवेदकहरूले समेत प्रतिवादी र पीडितहरूलाई अनुचित अवस्थामा फेला पारेको र बरामदी मुचुल्कामा उल्लिखित नग्न तस्बिरहरू समेत बरामद भएको भनी किटानी बकपत्र गरिदिएका आधार प्रमाणहरूबाट समेत प्रतिवादीको कसुर स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएको देखिन्छ ।’
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ मा बसेका डाल्गलिशले नेपाली नाबालकहरूलाई ललाइफकाइ गरी बालयौन दुराचार गरेको उजुरी सीआईबीमा परेको थियो । सोही अनुसार प्रहरीले २०७४ चैत २४ गते उनी बसेको घर खानतलासी गर्दा निजलाई पूर्ण नग्न अवस्थामा फेला पार्नुका साथै सोही घरमा अर्धनग्न अवस्थामा फेला परेका दुई नाबालकलाई उद्धार गरिएको थियो ।
काभ्रे जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलासले २०७३ असार २३ गते प्रतिवादी डाल्गलिशलाई ९ वर्ष कैद र पीडितलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय रामप्रसाद ओली र मिना गौतम सेडाईको संयुक्त इजलासले ०७६ माघ ९ गते प्रतिवादीलाई ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।
‘पीडितहरू उपर बालयौन दुराचार नगरेको भए निजहरू प्रतिवादीको घरबाट अर्धनग्न अवस्थामा उद्धार हुनुपर्ने अवस्था देखिँदैन,’पूर्णपाठमा भनिएको छ, ‘निजले अदालतमा गरेको बयानमा समेत उत्तर अमेरिका र युरोपमा बाल अवस्था पार गरिसकेपछि सुत्नेबेलामा कसैले पनि पूरा कपडा लगाउँदैनन् भनी गरेको बयान बेहोरासँग पीडितहरूलाई अर्धनग्न राखेको कार्य एकाकार हुन आयो ।’
‘प्रतिवादीले अनुसन्धानको क्रममा स्वयं आफू विगतमा पनि यस्तै प्रकृतिका कसुरमा संलग्न रहेको स्वीकार गरी बयान गरेको देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस सन्दर्भमा पीडित बालकहरूले अदालतमा उपस्थित भई गरेको बकपत्रमा प्रतिवादीले आफूहरूलाई विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउनेजस्ता विभिन्न प्रलोभन देखाइ यौन दुर्व्यवहार गर्ने गरेको भनी विस्तृत रूपमा उल्लेख गरेका छन् ।’

























