विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी, प्रशासनले काट्यो प्रहरीलाई पत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार २०:३१
मन्टु भनिने सञ्जयप्रसाद रौनियार ।

विराटनगर । विराटनगरका नामुद ‘मिटरब्याजी’ मन्टु भनिने सञ्जयप्रसाद रौनियारविरुद्ध सामूहिक उजुरी परेको छ ।

उनीबाट पीडित भएकामध्ये १२ जनाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । मन्टुमाथि अनुचित लेनदेन (मिटरब्याज)को नाममा सर्वसाधारणको करोडौं ठगी गरेको आरोप छ । उनी १६ महिना जेलसमेत बसेका थिए ।

Advertisement

१६ महिना कारागार बसेपछि सफाइ पाएका उनले अहिले पनि ‘मिटरब्याज’को धन्दालाई जारी राखेको भन्दै प्रशासनमा उजुरी परेको हो । जेलबाट छुटेपछि फेरि पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिने, पैसा माग्ने र कानुनी कारबाहीको डर देखाएर त्रास फैलाउने गरेपछि मन्टुविरुद्ध उजुरी दिएको पीडितहरुले बताए ।

मोरङको सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवले जेलबाट छुटेपछि पनि मन्टुको आंतक उस्तै रहेको बताए । उनका अनुसार मन्टुले अहिले आएर जग्गा बिक्री गरेको पैसा माग्दै हुलाकमार्फत पत्र पठाउने गरेका छन् । ‘भनेजति पैसा नदिए प्रहरी प्रशासन लगाएर कारबाही गर्छु भन्दै धम्की दिएर आतंकित बनाएपछि पीडित भएका १२ जनाले न्यायका लागि प्रशानमा उजुरी दिएका छौ,’ उनले भने ।

मन्टुविरुद्ध संयुक्त उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई छलफलका लागि उपस्थित गराउन बुधबार जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्रचार गरेको छ । ‘सञ्जयप्रसाद रौनियारलाई अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाइ पेस गरेको उजुरीउपर छलफल गर्नुपर्ने भएकोले निज विपक्षीलाई यस कार्यालयमा उपस्थित गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ प्रशासनले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए । ‘दुवै पक्ष आएपछि छलफल हुनेछ । घटनाको सत्यतथ्य बुझ्छौं । त्यसपछि आवश्यक देखिए कानुनी प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने ।

ठगी र अपराधिक लाभ मुद्दामा २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजालसले मन्टुलाई सफाइ दिएको थियो । त्यसपछि कारागारमुक्त भएका मन्टुले सर्वसाधारणलाई चिट्ठी पठाएर पैसा माग्ने गरेको गुनासो पीडितहरुको छ ।

पीडितहरूका अनुसार उनीहरूले पहिल्यै मन्टुलाई सावाँ र ब्याज गरेर बढी नै पैसा तिरिसकिएको छ । बढी पैसा तिरेर जग्गा फिर्ता लिएको भए पनि मन्टुले ‘अझै पैसा तिर्न बाँकी छ’ भन्दै पत्र पठाएर त्रास फैलाउने गरेको गुनासो पीडितको छ ।

‘मिटरब्याज’को धन्दाबाट पीडित भएका १७ जनाले मोरङ प्रहारीमा ठगी र अपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते मन्टु पक्राउ परेका थिए । उनीविरुद्ध २०७७ माघ १३ गते मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।

सर्वसाधारणलाई विभिन्न मितिमा ठगी र अपराधिक लाभ लिएको मोरङ प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो । १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो र दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबीसहित मन्टुविरुद्ध मुद्दा दायर भयो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले उनलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो ।

त्यसपछि मन्टु मोरङ कारागार चलान भए । कारागार गएपछि फैसला हुनुभन्दा अगाडि मुद्दाको बकपत्र भयो । त्यसबेला मन्टुले उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे । निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो । मन्टुले सहमतिको पत्रमा हस्ताक्षरका लागि श्रीमती ज्योति रौनियारलाई अख्तियारी दिएका थिए ।

उक्त सहमति अनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो । सहमतिसँगै २०७९ जेठ ९ गते सफाइ पाएर मन्टु कारागारमुक्त भएका थिए । सफाइ पाएर छुटेको २ वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै मन्टुले १७ जनामध्ये ११ जनालाई पत्र पठाएका हुन् ।

मन्टुले भने आफूले बिक्री गरेको जग्गाको पैसा मागेको बताउने गरेका छन् । प्रशासनमा उजुरी परेको जानकारी आएकोउनले बताए । छलफलका लागि आगामी सोमबार प्रशासनमा उपस्थित हुने मन्टुले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.